अमेरिकालाई कसरी मनाउने रणनीति बनाउँदै छ युरोप ?
काठमाडौं। युरोप र बेलायतले डोनाल्ड ट्रम्पलाई समर्थन गर्न बाध्य पार्ने गरी एक विश्वसनीय सैन्य गठबन्धन निर्माण गर्ने प्रयास जारी राखेका छन् । यदि ट्रम्पले यस्तो गठबन्धनलाई अस्वीकार गरे, भने उनी भ्लादिमिर पुटिनको पक्षमा देखिने जोखिम हुनेछ, जुन धेरै रिपब्लिकन समर्थकहरूले अस्वीकार गर्ने सम्भावना छ ।
तर यो योजना कार्यान्वयन गर्न कठिन देखिन्छ । यसका लागि नेटोका पर्याप्त सदस्य राष्ट्रहरूले व्यावहारिक सहयोग प्रदान गर्नुपर्नेछ, साथै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँगको सम्बन्ध सुधार गर्नुपर्नेछ । साथै, युद्धविराम प्रस्ताव तयार गर्दै अमेरिका समावेश हुने गरी एक समझदारी अघि बढाउनुपर्नेछ, ताकि ट्रम्प प्रशासनले युक्रेन र युरोपलाई बाहिर राखेर रुससँग स्वतन्त्र सम्झौता गर्न नसकोस् ।
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले लन्डनमा आयोजित बैठकमा पहिलोपटक युद्धविराम लागू गराउन सैन्य उपस्थितिको सम्भावना व्यक्त गरेका छन् । यद्यपि उनले कुनै देशको तर्फबाट ठोस सैन्य प्रतिबद्धताको घोषणा नगरेका कारण यो प्रस्ताव अझै प्रारम्भिक चरणमै रहेको देखिन्छ ।
अमेरिकी समर्थन आवश्यक रहेको बताउँदै स्टार्मरले इतिहासको सन्दर्भ दिँदै पुटिनमाथि विश्वास गर्न नसकिने तर्क अघि सारेका छन् । गत शुक्रबार वासिङ्टनमा भएको बैठकमा जेलेन्स्कीले यही धारणा व्यक्त गरेपछि उनको ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग विवाद भएको थियो ।
यसैबीच, युरोपेली नेताहरू अब रक्षा बजेट बढाउने विषयमा ठोस निर्णय लिनुपर्ने दबाबमा छन् । आगामी युरोपेली संघको शिखर सम्मेलनले आर्थिक नियमलाई परिर्वतन गर्दै अतिरिक्त रक्षा बजेट स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । जर्मनीमा नयाँ सरकार गठनको प्रक्रियाले पनि यो निर्णयलाई प्रभाव पार्न सक्ने देखिन्छ ।
अमेरिकी प्रशासनमा जारी अनिश्चितताबीच युरोपले स्वतन्त्र रूपमा सुरक्षा नीति अघि बढाउने प्रयास गरिरहेको छ । अबको चुनौती भनेको युरोपेली देशहरूले संयुक्त रूपमा ठोस सैन्य पहल अघि बढाउने कि अझै अमेरिकी निर्णयको प्रतीक्षामा रहने भन्ने रहनेछ । गार्डियनबाट
१९ फागुन २०८१, सोमवार १४:५३ बजे प्रकाशित












