खप्तडमा जेष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा भलाकुसारी कार्यक्रम सम्पन्न

अछाम । साँफेबगर नगरपालिका १२ खप्तडमा जेष्ठ नागरिक,एकल महिला र क बर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ । शनिबार वडा कार्यालयको आयोजनामा ८० वर्ष माथिका जेष्ठ नागरिक,६८ वर्षभन्दा मुनिका एकल महिला र ‘क’ वर्गका अपाङ्ग भएका ६८ जनालाई सम्मान गर्दै कम्मल वितरण गरिएको हो ।

३६ जना जेष्ठ नागरिक ,२९ जना एकल महिला र ३ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कम्मल वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले नगरपालिकाको विकटको वडाको रुपमा रहेको खप्तडका सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ,एकल र अपाङ्गले बैंक धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले भत्ताका लागि विकटका वासिन्दाले सास्ती भोग्नु परेकाले घरमै भत्ता प्राप्त गर्ने वातावरण सिर्जना गर्ने बताए ।

उनले खप्तडका बढी उमेरमा जेष्ठ नागरिक र पुर्ण अपांग भएका व्यक्तिहरुले घरमै भत्ता पाउने गरेको र अन्यको हकमा पनि भत्ताका लागी सहजता प्रदान गर्ने बताए । मानविय र भौतिक विकासका लागी खप्तड सधै आफ्नो प्राथमिकतामा रहेको मेयर कुँवरले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य नरेन्द्र कुँवरले खप्तडमा विकासका पुर्वाधारहरु सडक,शिक्षा,खानेपानी, स्वास्थ लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भईरहेको बताए । सदस्य कुँवरले अहिले प्रमुख समस्याको रुपमा रहेको बसाईसराई रोक्नका लागी वडा र स्थानीय सरकारले ठोस कदम चाल्न सुझाब दिए । खप्तडको विकासकालागि  सबैको सहकार्य र सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष जनक कडायतले पिछडिएको नभएर विकसित खप्तडको रुपमा अब केहि वर्षमा वडालाई देख्न सकिने बताए । उनले छुटेका अन्य जेष्ठ नागरिक,एकल महिला र ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग भएका व्यक्तिहरुलाई अर्को कार्यक्रममा समेट्ने बताए ।

वडाअध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष प्रकाश राना,नेपाली कांग्रेसका वडा सभापति टेकबहादुर रावल,नेकपा एमालेका जिल्ला कमिटी सल्लाहकार सदस्य श्याम रावल,नेकपा एकिकृत समाववादीका बमबहादुर रावल,पुर्व वडा सदस्य शारदा देवि कडायत लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन दिनेश बाब्लीले गरेका थिए ।


४ फागुन २०८१, आइतवार १६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु