punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता

Chaupati
safha napa

संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छन्।

यसैक्रममा मङ्गलबार उनले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी हुन्। मङ्गलबार उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गरेको द्विपक्षीय भेटवार्तामा दुई देश मित्रता, पारस्पारिक सम्मान र समझ्दारीमा आधारित सम्बन्धका साथ अघि बढेका र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको थियो।

भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको हो । त्यसैगरी उनीहरुबीच यस बर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो। नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

परराष्ट्रमन्त्री डा राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण बर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिन्। भेटका क्रममा पछिल्लो समय इपिएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरुलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री डा राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद दिइन्।

साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि मन्त्री डा राणाले सराहना गरिन्। मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरेकी छन्। नेपालमा प्रत्यक्ष लगानी गर्ने विदेशी राष्ट्रमध्ये दक्षिण कोरिया एक प्रमुख राष्ट्र हो। अघिल्लो आर्थिक बर्षमा मात्र नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरेकी थिइन्। त्यसैगरी मन्त्री डा राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

सो भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो । साथै सो भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गरेकी छन्।

 


९ असोज २०८१, बुधवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु