रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले गरे कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन
काठमाडौँ । रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अगाडि प्रदर्शन गरेका हुन् ।
हिजो (आइतबार )पक्राउ परेका लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। त्यही समयमा सहकारी पीडितहरूले प्रशासन अगाडि प्रदर्शन गरेका हुन् । सहकारीपीडितले जनतालाई ठग्न पाइँदैन भन्दै नाराबाजी गरेका छन् ।सहकारी पीडितहरूले लामिछानेले पनि बचत अपचलन गरेको भन्दै गत माघमा जाहेरी दिएका थिए ।
यता पोखराकै सहिद चोकमा भने रास्वापाका कार्यकर्ताहरूले सभापति लामिछानेलाई फसाउन पाइँदैन भन्दै प्रदर्शन गरेका छन् ।
७ असोज २०८१, सोमवार १४:०६ बजे प्रकाशित













