प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पक्षमा जम्मा ६३ मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिनेमा प्रधानमन्त्री प्रचण्डको पक्षमा जम्मा ६३ मत मात्र पर्यो ।
उनको विपक्षमा १९४ मत परेको छ भने मत दिन्न भन्नेमा १ मत परेको छ ।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।
प्रधानमन्त्री प्रचण्डले योसहित पाँचौं पटक विश्वासको मत मागेका हुन् । १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक सोही वर्षको २६ पुसमा विश्वासको मत मागेका थिए ।
दोस्रो पटक ६ चैत २०७९, तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिएको थिए ।
तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् ।
उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिए ।
२८ असार २०८१, शुक्रवार १७:२८ बजे प्रकाशित