चुम्बकले खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका दुई बस

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस चुम्बकले खोज्दा पनि भेटिएका छैनन् ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न नसकेको जनाएको हो ।

त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

बगाएर तल पुर्‍याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए । उनका अनुसार

सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ ।

बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको एसएसपी पौडेलले बताए । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।


२८ असार २०८१, शुक्रवार १५:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु