गणितमा मात्रै झण्डै १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण

काठमाडौं । बिहीबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा अनिवार्य गणित विषयमा मात्रै १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ । गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको यो संख्या अन्य विषयभन्दा धेरै हो।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् । गणित विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् ।

अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन् ।

बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ।

तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ। उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

यस वर्षको एसईईमा जम्मा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।


१३ असार २०८१, बिहीवार १४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु