कैलालीका नदीमा जल सतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह
लगातारको वर्षाका कारण आज (शुक्रवार) देशका केही नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कैलालीको पूर्वी भागका नदीमा बहाव उल्लेख्य बढ्ने छ।बिहान ५ः३० बजेको सूचना अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ। ती स्थानमा थप वर्षा हुने सम्भावना कायमै रहेकोमा स– साना नदीमा बहाव बढ्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।यस्तै महाकाली नदीको जलसतह सतर्कता तह पार गरेको छ ।
डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै पछिल्लो ३ घण्टामा बाँकेको खजुरा, नेपालगन्ज एयरपोर्ट र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। बाँके, बर्दिया र कैलाली भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
८ भदौ २०८०, शुक्रवार १२:४७ बजे प्रकाशित































