आजदेखी धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप सुरु हुँदै, उद्घाटनमा एपीएफ र बागमती भिड्ने

छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । । हिजो बेलुका धनगढी रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी गराएको हो ।

आज दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । क्लबका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लब र बागमती क्लबबिच बिहीबार दिउँसो साढे तीन बजे हुने बताए ।

प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ । प्रतियोगितामा उद्घाटन खेल हेर्न टिकट नलाग्ने महासचिव शाहीले बताए । यस्तै अन्य दिन विद्यार्थीका लागि एक सय र अन्यका लागि एक सय ५० रुपैयाँको टिकट लाग्ने छ । टिकट काटेका मध्ये दैनिक एक जना दर्शकले गोला प्रथाबाट एन्ड्रोइड मोबाइल फोन पुरस्कार पाउने छन् ।

 


९ चैत २०७९, बिहीवार ०७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु