‘स्टक नेपाल ट्रेडिङ’मार्फत काठमाडौँमा यसरी ठगिइन् कैलालीकी एक किशोरी

कैलालीकी २२ वर्षीया सविता (नाम परिवर्तन) मंगलवारदेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वर धाइरहेकी छिन् ।

उपत्यकाको एक कलेजमा स्नातक तेस्रो वर्षमा पढ्ने सविता आफू ठगिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिन पुगेकी हुन् ।

एक सातामा आफ्नो ७८ हजार रूपैयाँ ठगिएको उनी बताउँछिन् ।

अब प्रश्न उठ्छ, उनी कसरी ठगिइन् रु कसले लग्यो पैसा रु प्रश्नको उत्तर रोचक छ ।

केही दिनअगाडि उनकी दिदीको इन्स्टाग्राम आईडीमार्फत ‘स्टक नेपाल ट्रेडिङ’ नामको एप्लिकेसनको लिंक शेयर भयो ।

एन्ड्रोइड मोबाइलमा इन्स्टल गरेर चलाउन मिल्ने ‘एपीके’ फाइल आएकाले उनले त्यसलाई क्लिक गरिन् । एप इन्स्टल भयो । उनले दिदीलाई म्यासेज गरिन्, कसरी चलाउने रु के गर्ने रु उनलाई अर्को एउटा इन्स्टाग्राम आईडीमा जोडिन आग्रह गरियो । आग्रहबमोजिम उनी ‘विनिता डोनाल्ड’ नामको इन्स्ट्राग्राम आईडीमा जोडिइन् ।

उनलाई त्यो एप्लिकेसनमा कसरी जोडिने भनेर सिकाइयो । पैसा नेपाल बैंक, इसेवा लगायतमा पठाइदिन भनियो । सविताले भनेअनुसार पैसा पठाइन् ।

उनलाई ३ घण्टामा पैसा दोब्बरतेब्बर बढ्छ भनिएको थियो । उनले त्यसको लोभमा पैसा पठाएको  बताइन् ।

‘३ घण्टामा पैसा दोब्बरतेब्बर हुन्छ भनेपछि पैसा पठाएकी हुँ,’ सविताले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘उसले बढेको अमाउन्ट एप्समा देखाइदियो, त्यसपछि त विश्वास लाग्यो नि सर ।’

उनले शुरूमा १० हजार रुपैयाँ लगानी गरेको बताइन् ।

बैंकिङ एप्लिकेसन इसेवा, मोबाइल बैंकिङलगायतमा पैसा राख्न लगाइएको थियो । उनका अनुसार अन्य साथीहरू र आफन्तले पनि त्यसरी नै ‘लगानी’ गरेका छन् । अर्थात्, ठगहरूको जालोमा परेका छन् ।

उनले पैसा आउने लोभमा साथीभाइसँग मागेर ७८ हजार रुपैयाँ लगानी गरेकी थिइन् । जब उनको एप्सको खातामा धेरै पैसा देखियो, तब झिक्न खोज्दा पाइनन् । उनले आफ्नी दिदीलाई फोन गरेर सोधिन्, तब उनले केही पनि थाहा नभएको बताएपछि झसंग हुन पुगिन् । त्यतिबेलासम्म उनले दिदीसँग पनि च्याटमै संवाद गरेकी थिइन् ।

पछि थाहा भयो, दिदीको इन्स्टाग्राम अकाउन्ट अर्कैले ह्याक गरेर चलाएको रहेछ । उक्त व्यक्तिले सविताको दिदीकै शैलीमा च्याट गर्ने गरेको थियो ।

आफू ठगिएको थाहा पाएपछि उनी प्रहरीमा जाहेरी दिन पुगेकी हुन् ।

उनले इन्स्ट्राग्रामको म्यासेन्जरमा सम्पर्क भएको ‘विनिता डोनाल्ड’लाई पैसा पठाइदिन भन्दा उसले आनकाकी गर्दै अर्कै इमेलमा सम्पर्क गर्न भनिरहेको छ । सविताले ‘तँ स्क्यामर रहेछस्, पैसा फिर्ता गर’ भन्दा अरूले पनि त्यसै भने, म स्क्यामर होइन, अर्को इमेलमा सम्पर्क गर, तेरो पैसा फिर्ता हुन्छ,’ भनिरहेको सविताले  बताइन् ।

उनी अहिले आफ्नो पैसा फिर्ता आउने आशमा प्रहरी कार्यालय धाइरहेकी छन् । पछिल्लो समय नेपाल स्टक ट्रेडिङ नामको एप्लिकेसन पठाएर इन्स्टल गर्न लगाई पैसा ठगी गर्ने गिरोह सक्रिय भएको अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठोरले बताए ।

लोकान्तरबाट


२ चैत २०७९, बिहीवार १५:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु