बयान दिएर कारागार फर्किँदै गर्दै अरुणले भने – म फरार होइन, न्याय चाहिन्छ
कैलाली । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीले १० बर्ष पहिले भएको फैसला बारे आफूलाई जानकारी नभएको बताएका छन्।
आज जिल्ला अदालत कैलालीमा बयान दिएर कारागार फर्किँदै गर्दा उनले आफू फरार नरहेको र न्यायका लागि अपिल गरेको बताएका हुन् ।
‘मैले न्याय पाउनु पर्छ । मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’ उनले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनले आफूलाई उक्त फैसला बारे जानकारी नभएको आज अदालतलाई समेत बयान दिएका थिए ।
उनले आज उच्च अदालत दिपायलमा भएको बहसले आफ्नो मुद्धा किनारा लाग्ने बताए। उनले आफूलाई फरार भनेर चरित्र हत्या गर्ने काम भएको समेत बताए ।
३ फागुन २०७९, बुधवार १७:११ बजे प्रकाशित













