आज कुष्ठरोग दिवस : सुदूरपश्चिममा बढ्दै कुष्ठरोगीको संख्या
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ ।
यता सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढिरहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३ देखि हालसम्म प्रदेशभर एक हजार ५९१ जना कुष्ठ रोगी भेटिएका हुन् ।
स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाकाअनुसार प्रदेशका विभिन्न जिल्लामा गरिएको खोज परिचालन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२-७३ मा २०८ जना कुष्ठ रोगी भेटिएका थिए ।
त्यो संख्या आर्थिक वर्ष २०७५-७६ सम्म वर्षेनी पृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७३-७४ मा २०९ जना, आर्थिक वर्ष २०७४-७५ मा २९८, आर्थिक वर्ष २०७५-७६ मा २५४ जनामा कुष्ठ रोग भेटिएको थियो । तर आर्थिक वर्ष आर्थिक वर्ष २०७६-७७ देखि भने संख्यात्मक रुपमा अघिल्ला वर्षको भन्दा कम मानिसमा रोग देखिएको छ ।
आर्थिक वर्ष आर्थिक वर्ष २०७६-७७ मा १३७ जनामा रोग भेटिएकोमा आर्थिक वर्ष आर्थिक वर्ष २०७७-७८ मा २०८ र ०७८-७९ मा २०५ जनामा रोग भेटिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भने ७२ जना कुष्ठ रोगी भेटिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
कुष्ठ रोग पत्ता लागेकामध्ये हाल सबैभन्दा बढी कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना उपचारमा रहेका छन् । डोटीमामा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २र२ र डडेल्धुरामा १ जना कुष्ठ रोगी उपचाररत रहेको ओझाले बताए ।
गत वर्ष प्रदेशमा २०५ जनामा कुष्ठ रोग लागेको पाइएकोमा १११ पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखिएका थिए । उनीहरु मध्ये १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठ रोग देखिएको थियो ।
१५ माघ २०७९, आइतवार ०८:२८ बजे प्रकाशित













