punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडी नगरपालिकाको विभेद : सर्वसाधारण पेटी भत्काउने पूर्वमन्त्रीको जोगाउने !

Chaupati
safha napa

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले राजमार्ग छेउका खोपा खाप्रा हटाउने कार्यमा विभेद गरेको पाइएको छ । पूर्व पश्चिम राजमार्गको २५ मिटर भित्रको खोपा छापा टहरा हटाउने सूचना जारी गरेको नगरपालिकाले उक्त क्षेत्र सर्वसाधारणको पेटी पर्दा पनि भत्काएको छ ।

यता घोडाघोडी १० मा सर्वसाधारण घर नपर्दा पेटीमा समेत डोजर चलाएको नगरपालिकाले पूर्वमन्त्रीको घर अघिको पेटीमा भने डोजर चलाउने हिम्मत गर्न सकेन ।

घोडाघोडी नगरपालिकामा खडक रावत नेकपा एकीकृत समाजवादीबाट मेयरमा निर्वाचित भएका हुन् । सडकको क्षेत्राधिकार भित्र नेकपा एकीकृत समाजवादीबाट प्रदेशका अर्थ राज्यमन्त्री भएका अमर साउदको पेटीसमेत पर्दछ । नगरपालिकाले भने त्यहाँ केही नगरेको स्थानीयले आरोप लगाए ।

‘बिनामापदण्ड हाम्रो घर अघिको पेटी भत्कायो, ठूला बडालाई केही गरिएन’, स्थानीय एम पोख्रेलले भनिन्, ‘नगरपालिकाले खोपा खाप्रा हटाउने कार्यमा विभेद गरेको छ ।’

नगरपालिकाले पुस ११ गते सूचना जारी गरेर १३ गतेदेखि डोजर चलाएको थियो । सूचनामा सडक अतिक्रमण गरी राखिएका खोका छाप्रा टहरा निर्माण सामग्री राख्ने, सडक किनारमा पशु चौपाया बाँध्ने सडकमा नाली अतिक्रमण गर्ने कार्यले सवारी दुर्घटना हुने भन्दै दुर्घटना न्यूनीकरण गर्न राजमार्ग छेउका खोपा खाप्रा हटाउने नीति लिएको जनाएको थियो । उक्त सूचनामा नगरपालिकाले घर भत्काउने कुरा उल्लेख समेत गरेको थिए ।

बिना सूचना सडक क्षेत्रमा नपर्ने घरमा समेत डोजर चलाएको आरोप लागेपछि थप समस्या सृजना भयो । उक्त विवाद समाधान गर्न सडक डिभिजन कार्यालयको प्रमुख प्रतिनिधिको संयोजकत्वमा समिति समेत गठन गर्नुपर्ने अवस्था सृजना भयो ।

अहिले नगरपालिकाले २५ दिन भित्र यस विषयमा प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।

सर्वसाधारणको घर र पेटी भत्काउँदै हिँडेको नगरपालिकाले सडककै जग्गामा आफै संरचना तयार गरिरहेको छ । घोडाघोडी ताल क्षेत्रमा सडकको जग्गा कब्जा गरि संरचनाहरू तयार भइरहेका छन् ।

नगरपालिकाले पूर्वमन्त्रीको आँगन जोगाएको र सर्वसाधरको घरको पेटी समेत भत्काएको आरोपबारे उपप्रमुख गुलिया चौधरी केही कमजोरी भएको स्वीकार गर्छिन् । ‘यही विवादका कारण २५ दिनलाई हामीले रोकेका छौँ’, उनले भनिन्, ‘केही कमजोरी भएको छ ।’

नगरपालिकामा विवाद भएकै दोस्रो दिन मेयर रावत र कार्यकारी अधिकृत दीपक आचार्य वैदेशिक भ्रमणमा निस्किएका थिए ।


२४ पुस २०७९, आइतवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु