सुदूरपश्चिममा माओवादी : प्रतिनिधि सभामा प्रत्यक्षमा शून्य समानुपातिकमा एक
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकतर्फ कैलालीकी रुपा सोसी चौधरीलाई छनोट गरेको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको माओवादीले समानुपातिकतर्फ चौधरीलाई छनोट गरेको हो
सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा माओवादीले बैतडी, कैलाली निर्वाचन क्षेत्र नं २, ३ र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ पाएको थियो । तर ती क्षेत्रमा माओवादीका उम्मेदवारहरु पराजित भए । माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण शनिबार निर्वाचन आयोगमा बुझाएको छ ।
जसमा थारु महिला कोटा अन्तर्गत कैलालीको टीकापुर नगरपालिका २ बन्दीपुरकी रुपा सोसी थारुलाई प्रतिनिधि सभा सदस्यको लागि छनोट गरिएको हो । उनी सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रकी एक्ली प्रतिनिधि सभा सदस्य हुन लागेकी हुन् । १० वर्षे जनयुद्धको पृष्ठभूमिबाट राजनीतिमा आएकी रुपाको यो तेस्रो पटकको संसदीय यात्रा हो ।
२५ मंसिर २०७९, आइतवार ११:०९ बजे प्रकाशित































