विश्वकप क्रिकेट: आयरल्यान्डविरुद्ध अस्ट्रेलियाको सहज जित
आयोजक राष्ट्र अस्ट्रेलियाले टी-२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । सोमबार भएको खेलमा आयरल्यान्डविरुद्ध अस्ट्रेलियाले ४२ रनको जित निकालेको हो ।
१८० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको आयरल्यान्ड १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा सीमित भयो । आयरल्यान्डका लोर्कन टुकरले अविजित ७१ रन बनाए पनि अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।
उनले ४८ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ७१ रन बनाएका हुन् । २५ रन हुँदा पाँच विकेट गुमाएको आयरल्यान्डलाई लज्जास्पद हारबाट लोर्कन टुकरले बचाए । बलिङतर्फ अस्ट्रेलियाका पट कुम्मिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम्प जाम्पाले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रन बनाएको थियो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ६३ रन बनाए । उनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक बनाए । त्यस्तै, मार्कस स्टोइनिसले ३५, मिचेल मार्सले २८, टिम डेभिडले अविजित १५ र ग्लेन म्याक्सवेलले १३ रन बनाए । बलिङतर्फ आयरल्यान्डका बेरी म्याकर्थले तीन र जोश लिटलले दुई विकेट लिए ।
यो जितसँगै अस्ट्रेलिया समूह(एकको दोस्रो स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले चार खेलबाट पाँच अंक बनाएको छ । यो समूहको शीर्ष स्थानमा रहेको न्यूजिल्यान्डको तीन खेलबाट पाँच अंक नै छ । यता, पराजित आयरल्यान्डको भने चार खेलबाट तीन अंक छ ।
१४ कात्तिक २०७९, सोमवार २०:०५ बजे प्रकाशित












