बैतडीमा पार्टीविरुद्ध उम्मेदवारी दिने र समर्थन गर्ने नेताहरू कारबाहीमा
गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्ताहरूलाई बैतडी कांग्रेसले धमाधम कारबाही गरिरहेको छ । आम निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी उम्मेदवारी दिने र उनीहरूको पक्षमा मत माग्नेहरूलाई कांग्रेसले कारबाही गरिरहेको हो । कांग्रेसले दलित संघ बैतडीका अध्यक्ष रमेश कोली, नेताहरू हरिमोहन भण्डारी, केशव चन्द र भीम नाथ लगायतलाई पार्टीबाट निष्कासन गरेको हो ।
बैतडी कांग्रेसको अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार उनीहरूले पार्टीविरुद्ध उम्मेदवारी दिएको र स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको कारबाही गरिएको हो । यस्तै नेपाली कांग्रेसका पाटन नगर सभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको कांग्रेसले जनाएको छ ।
बैतडीमा कांग्रेसबाट विद्रोह गरी केशव चन्दले संघ र हरिमोहन भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको पक्षमा खुलेका नेताहरूलाई पार्टीले कारबाही गरिरहेको छ ।
१४ कात्तिक २०७९, सोमवार १७:१८ बजे प्रकाशित












