यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई गम्भीर रूपमा हेर्न आग्रह

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धामा स्थानीय तह गम्भीर नभएको गुनासो गरिएको छ । धनगढीमा बिहीबार सञ्चार कर्मीहरूसँग भएको छलफलमा यस्तो गुनासो गरेको हो । सुदूरपश्चिम समाजको आयोजनामा सञ्चारकर्मीहरू भएको छलफलमा स्थानीय सरकार सँग आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु पनि सम्बोधन गर्नुपर्छ भनेर स्थानीय सरकार सँग आग्रह गरेका हो’ सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले भने । ‘तर, पनि बेवास्ता हुने गरेको छ ।’  कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटाले मात्र आफ्नो समुदायलाई नीति तथा कार्यक्रममा समावेश गरेको देखिएको उनले छलफलमा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेको छ । ‘थोरै भए पनि कैलालीका कैलारी, भजनी, टीकापुर र सुखडले मात्र सम्बोधन गरेको देखिन्छ’, उनले भने । ‘अन्य स्थानीय तहलाई आफूहरूले अनुरोध गर्दा पनि बेवास्ता गरेको देखियो ।’
ब्लु डायमन्ड सोसाइटीकी कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले सामाजिक संस्कार, रहनसहन तथा राज्यको नीतिका कारण पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू खुल्न नसकेको बताइन् । ‘समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकहरू धेरै रहेका छन्’, उनले भनिन् । ‘तर, सामाजिक रहनसहनले गर्दा पनि खुलेर आउन सकेको अवस्था छैन ।’ यस्तै उनले अव आउने निर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकहरुको पनि सहभागिता हुनुपर्ने बताइन् । अहिले केन्द्रमा यस समुदायका मानीसलाई समेट्न नसक्नु दुखद् भएको  उनले बताइन् ।

अधिकार सुनिश्चितताका लागि समाजमा धेरै संर्घष गर्नुपरेको उनले बताइन् । नागरिकता लिँदादेखि निर्वाचनमा भाग लिँदा सम्म आफ्नो समुदायलाई सहज नभएको उनले बताइन् । राजनीतिक दलहरूले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु बेवास्ता गर्ने गरेको उनको भनाई रहेको छ ।
छलफल कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


६ असोज २०७९, बिहीवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु