ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ
काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजमा अध्ययनरत ४ विद्यार्थी पक्राउ परेका छन् ।
मंगलबार सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी घर भइ हाल काठमाडौं तारकेश्वर बस्ने १८ वर्षका जोसेन बानियाँ, रामेछाप मन्थली घर भएर हाल काठमाडाैं डिल्लीबजार बस्ने १८ वर्षकै विपीन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भएर हाल काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षकै प्रतिक खतिवडा रहेका छन् ।
यस्तै काठमाडौं टोखाका अनमोल भनिने १८ वर्षीय सञ्जिव भण्डारी पनि पक्राउ परेका छन् । चारै जनाको योजनामा गार्डलाई जोसेनले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कलेजको मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबीच केही दिनअघि कलेज प्राङ्गणमै बास्केटबल खेल्दा विवाद भएको थियो ।
१ असार २०७९, बुधवार १०:०७ बजे प्रकाशित













