नेपालगञ्जमा राजावादी समूह र प्रहरीबीच झडप, ९ प्रहरी घाइते
बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी घाइते भएका छन् ।
सशस्त्र प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर शाही, प्रहरी सहायक निरीक्षक गञ्जबहादुर घर्तीमगर, हवल्दारद्वय लक्ष्मी चौधरी र जसीप्रसाद जोशी र प्रहरी सहायक हवल्दार रेशम राना घाइते भएका हुन् ।
यस्तै जवानहरू मञ्जु दर्जी, प्रकाश थापा, रामकुमार चौधरी र टिकाराम रिजाल पनि झपडमा घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएका सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको थियो ।
राजावादी समूहले तनावकाबीच स्थापना गरेको शालिक केहीबेरमै प्रहरीले हटाएको छ । प्रहरीले शालिक हटाएपछि आक्रोशित बनेको यो समूहले न्युरोडस्थित सेतु बिकको शालिकमा पनि तोडफोड गरेको छ ।
उक्त शालिकको निधारमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । शालिक तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेको छ ।
१९ जेठ २०७९, बिहीवार १२:२४ बजे प्रकाशित












