श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु
घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको गएराति मृत्यु भएको छ । भरतपुर अस्पतालमा ५ दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटनालगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरेको छ ।
उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनांगको चार तह च्यातिनुको साथै कम्मरको हड्डी भाँच्चिएको थियो ।
१७ जेठ २०७९, मंगलवार ११:०४ बजे प्रकाशित












