धनगढी उपमहानगरपालिकाभित्रका निजी अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचारमा सहुलियत
धनगढी उप–महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निजी अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ। मंगलबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच बसेको बैठकले उपमहानगरभित्रका निजी अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो।
सबै निजी अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ। ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत छुट दिने तथा औषधिमासमेत ५ प्रतिशत छुट दिने’ सम्झौतापत्रमा उल्लेख छ।
उक्त सहुलियत लिनका लागि धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई परिचयपत्र उपलब्ध गराउने छ। ज्येष्ठ नागरिकहरूले बिहान १० बजेदेखि दिउँसोको १ बजेसम्म उक्त सेवा प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ।
१० जेठ २०७९, मंगलवार १७:५८ बजे प्रकाशित












