अघिल्लो पटक वडा सदस्यमा पराजित भएकी राना बनिन् धनगढीको उपमेयर
सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका धनगढीको उपमेयरमा कन्दकला राना विजयी भएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गर्दै एमालेकी राना उपमेयरमा विजयी भएकी हुन् ।
रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाएकी हुन् । धनगढी उपमहानगरपालिका–८ की रानाले २०७४ सालको निर्वाचनमा वडा सदस्यमा उम्मेदवारी दिए पनि उनी पराजित भएकी थिइन् ।
अघिल्लो पटक हार व्यहारेकी रानाले यसपटक भने उपमेयरमा उम्मेदवारी दिएकी थिइन् । गठबन्धनबाट उम्मेदवारी दिएकी अधिकारीलाई हराउन रानालाई सहज भने पक्कै थिएन । एमालेबाट लडेकी राना सुरुमा गठबन्धनकी अधिकारीलाई पछ्याइरहेकी थिइन् । केही मतान्तरले अघि–अघि रहँदै आएकी अधिकारीलाई रानाले अन्तिममा भने २ हजार ८०९ भोटले पराजित गरिन् ।
कैलालीको धनगढी गाउँमा २०४० सालमा सामान्य परिवारमा जन्मिएकी राना अहिले एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ कैलालीको जिल्ला कमिटी सहसचिव पनि हुन् ।
राना एमालेको जिल्ला कमिटी सदस्य र नेपाल राना थारू समाजकी केन्द्रीय कोषाध्यक्ष हुन् । एमालेमा उनी आबद्ध भएको एक दशक पुगेको छ । उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा पनि काम गरेर अनुुभव बटुुलिसकेकी छन् ।
‘मेरो उम्मेदवारी धनगढी उपमहानगरपालिकाको समग्र विकासका लागि हो । यहाँका बालबालिका, महिला दिदीबहिनी र युवाहरूको क्षमता विकास, अधिकार संरक्षण तथा प्रर्वद्धन गर्ने, दलित, जनजाती लगायतका विपन्न समुदायको हितका लागि आवश्यक काम गर्न प्रतिबद्ध छु,’ रानाले भनिन् ।
उनले आफू समान्य परिवारमा हुुर्किएको छोरी, बुुहारी भएको बताउँदै यसपटकको जितले आफू जस्ता धेरैको पनि जित भएको बताएकी छन् ।
८ जेठ २०७९, आइतवार १९:१२ बजे प्रकाशित












