बेलाैरी नगरपालिकाकाे प्रमुखमा पाेतिलाल र उप प्रमुखमा जाेगराम विजयी

कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन् । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमला बोहरालाई १ हजार ९८४ मतको अन्तरले हराउँदै नगरको मेयरमा पुनस् निर्वाचित भएका छन् ।

चौधरीले ८ हजार ७८७ र बोहराले ६ हजार ८०३ मत ल्याएका थिए । काँग्रेसका हरेन्द्र विष्टले ६ हजार ३१३ मत ल्याएका छन् । यस अघि ०७४ मा पनि माओवादी केन्द्रबाटै उम्मेदवार भएका चौधरी मेयरमै निर्वाचित भएका थिए ।

यति बेला २९ हजार ३७७, मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए ।चौधरीले काँग्रेसका उम्मेदवार हरेन्द्र विष्ट र एमालेका उम्मेदवार पल्लवराज भट्टलाई झिनो मतको अन्तरले हराउँदै प्रमुखमा निर्वाचित भएका थिए ।

उतिबेला पोतिलाल चौधरीले ६ हजार ७ सय ६३ मत ल्याएर निर्वाचित भएको बुझिन्छ ।अहिले उनको मत बृद्धि भएको छ । जनप्रिय र विकासप्रेमी नेता भएकाले पाँच बर्षपछि चौधरीको लोकप्रियताले जनमत बृद्धि भएको स्थानीयको भनाई छ ।

उपमेयरमा भने एमाले उम्मेदवार जोगराम चौधरी निर्वाचित भएका छन् । चौधरीले माओवादीका मञ्जु शाहलाई ७ सय ४८ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भएका छन् ।

चौधरीले ७ हजार ५८३ र शाहले ६ हजार ८३५ मत ल्याएकी छिन्। काँग्रेसकी नेतृ खिना भण्डारीले ६ हजार ६१३ मत ल्याएकी छिन् । बेलौरीमा काँग्रेसले १, माओवादीले ४ र एमाले ५ वडा जितेको छ । ५२ पदका लागि बेलौरीमा २३३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

३९ हजार ५३९ मतदाता रहेको बेलौरीमा २५ हजार ७२९ मत खसेका थिए । एमाले–माओवादी प्रमुख नेताले महत्वका रुपमा हेरेको बेलौरी सबैको चासो बढ्दै गएको थियो । २२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ बैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेलौरी मञ्चमा आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए ।


३ जेठ २०७९, मंगलवार १४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु