सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको काम छिट्टै अघि बढ्छ : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र दैजिछेला औद्योगिक क्षेत्र निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् ।उनले बन्दरगाह र औद्योगिक क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै काम सुरु गर्ने गरी तयारी भइरहेको बताए ।

‘यि दुवै महत्वपूर्ण योजना सरकारको मुख्य प्राथमिकतामा छन्, भारतले पनि काम सुरु गरिसकेको छ, ‘उनले भने, ‘सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र निमार्णपछि सुदूरपश्चिले ठूलो फड्को मार्छ यो नाका त्रिदेशीय नाकाका रुपमा विकास हुन्छ ।’

उनले छिट्टै कामको थालनी गर्नका लागि बजेटको व्यवस्थापन समेत भइरहेको बताए । उनले दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने बताए । उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा सात अर्ब लाग्ने अनुमान गरिएको बताए ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुङ्गो लाग्ने चरणमा छ,’ उनले भने, ‘नयाँ बजेटमा सुख्खाबन्दरगाहलाई सम्बोधन हुने विषय एकसाथ टुङ्गोमा पुग्छ ।’

दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले सोमबार स्थलगत अनुगमन गरेका हुन्।


२ जेठ २०७९, सोमवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु