भलमन्साको काँधमा वडा हाँक्ने जिम्मेवारी
कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन ।
सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित विजयी हुनुभएको छ । उनले नेकपा (माओवादी केन्द्र) का कैलाश चौधरीलाई पराजित गरेर वडा अध्यक्षमा जित हासिल गरे ।
विजयी हुनु भएका चौधरीले एक हजार १२ र पराजित हुनु भएका उम्मेदवारले ७४२ मत प्राप्त गरे । यसैगरी, जोशीपुर गाउँपालिका–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीका विष्णु चौधरी विजयी हुनु भएको छ । उनले ६४२ मत प्राप्त गरे ।
यस्तै, कैलालीको टीकापुर नगरपालिकाको वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित भएको छ । सो पार्टीका लालवीर चौधरी वडा नम्बर ४ को वडा अध्यक्षमा पुनः निर्वाचित हुनु भएको छ । यसैगरी, गोदावरी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रविन्द्र शाही (गुड्डु) निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
२ जेठ २०७९, सोमवार १२:४५ बजे प्रकाशित












