पहिलो पटक सरकारले ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ। समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग ९पात्रो० लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो। यही सातासम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ। सरकारले आफैँ पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो। सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ।
समिति गठन आदेश बमोजिम समितिले नौ जनाको सङ्गठन संरचना तयार पारी मन्त्रालयमा पेश गरेको छ। समितिको सङ्गठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिनेछ। थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्ते पात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने विश्वास गरिएको छ।
२२ चैत २०७८, मंगलवार ०९:२१ बजे प्रकाशित













