कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । “निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।” एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उहाँले बताउनुभयो ।

तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ । अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको सङ्ख्या दुई लाख ९७ हजार ३४१ रहेको छ ।

निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका एक हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ । स्थानिय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मङ्सिरयता दुई पटक नामावली सङ्कलनको कार्य गरेको थियो ।


३ चैत २०७८, बिहीवार ०९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु