फेसबुकमा जातीय विभेदको स्टाटस लेख्नेलाई दुई महिना जेल सजाय
उच्च अदालत दिपायलले सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेद हुने गरी अभिव्यक्ति दिने एक जना युवालाई दुई महिना जेल सजाय तोकेको छ ।
आइतबार उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई उक्त सजाय सुनाएको हो ।
पाण्डेमाथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको अभियोग लागेको थियो । उच्च अदालतले उक्त अभियोगमा कसूरदार ठहर्याइ २ महिना जेल र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको उच्च अदालत दिएपायलका सूचना अधिकारी तथा प्रवक्ता नरबहादुर नेगीले बताए ।
त्यस्तै अदालतले फैसलामा जाहेरवाला दलित कल्याण संघ कैलालीको कोषमा जम्मा हुने गरी प्रतिवादीबाट २ लाख रूपैयाँ क्षतिपूर्ति भराउन पनि भनेको छ । प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दासमेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।
२०७७ साल वैशाख २७ गते कैलाली बोराडाडीका पाण्डेले फेसबुकमार्फत् मेयर वडलाई लक्षित गर्दै जातीय विभेद गरेको भन्दै उजुरी परेको थियो । उक्त मुद्दामा जिल्ला अदालत कैलालीले ३० मंसिर २०७७ मा प्रतिवादी पाण्डेलाई ५०० रुपैयाँ जरिवाना गरेको थियो ।
सुनाएको उच्च अदालत दिएपायलका सुचना अधिकारी तथा प्रवक्ता नर बहादुर नेगीले बताए ।
१ चैत २०७८, मंगलवार १९:२६ बजे प्रकाशित













