अन्नपूर्ण मिडिया नेटवर्कका सुदूरपश्चिम ब्युरोप्रमुख भट्ट पुरस्कृत
प्रेस चौतारी नेपालद्वारा सञ्चालित पदमालक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट अन्नपूर्ण मिडिया नेटवर्कका सुदूरपश्चिम ब्युरोप्रमुख शिवराज भट्ट पुरस्कृत भएका छन् । चौतारीको नवौं महाधिवेशनको अवसरमा शुक्रबार भट्टलाई पुरस्कृत गरिएको हो ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । २०७७ सालको सोही पुरस्कार कान्तिपुरका अब्दुलाह मियालाई प्रदान गरिएको थियो ।
चौतारीले ११ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भएका हुन् । अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्णविनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत भए ।
डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हीरा परियारलाई प्रदान गरियो । वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत भएका छन् । यस्तै चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ पुरस्कृत भइन् ।
२७ फागुन २०७८, शुक्रवार १९:४३ बजे प्रकाशित












