मन्त्री आलेले गरे पशुपती क्षेत्र व्यवस्थापनको निरीक्षण

महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको छ भने ढोका खोल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागिसकेको थियो ।

मन्दिरमा भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर मन्दिर एवं पूजाको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहानैदेखि खटिएका छन् । उनी आज बिहान ३ बजे नै मन्दिरमा उपस्थित भई आवश्यक सबै तयारी गरेका थिए ।

यसअघि उनले पाशुपत क्षेत्रका भित्ता तथा खाली स्थानमा भगवानका तस्बिर बनाउने, विभिन्न रङ्गका फूलले यस क्षेत्र सजाउने आदि काम गर्न निर्देशन दिएका थिए । गएको हप्तादेखि नै महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा गर्नुपर्ने काममा उनी आफैँ खट्ने र निर्देशन दिने गरेकाले यस पटकको महाशिवरात्रि पर्वमा पशुपतिनाथमा मेला तथा दर्शन गर्न सहज र व्यवस्थित भएको देखिएको छ ।

भक्तजनको दर्शनका लागि सहज होस् भनेर पशुपतिनाथ क्षेत्रमा ५०० स्वयंसेवक परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य एवं मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए ।

आज मध्यान्हदेखि पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मीको सङ्ख्या पनि थप गरिएको बताइएको छ ।


१७ फागुन २०७८, मंगलवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु