शनिबार सत्ता गठबन्धन बैठक, एजेण्डा स्थानीय निर्वाचन मिति

स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि (शनिबार) बस्ने भएको छ।

शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ।

आगामी वैशाख २२ गते निर्वाचन गर्ने गरी प्रस्ताव गरेकै मितिमा चुनाव गर्न आयोगले पटक पटक दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन्।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।

उक्त छलफलमा राष्ट्रिय सभाको माघ १२ गते भएको निर्वाचनको समीक्षाका साथै स्थानीय तह निर्वाचनका लागि आयोगको ताकेताबारे पनि समीक्षा भएपछि गठबन्धनको बैठक बसेर निर्णय गर्ने समझदारी भएको हो।

‘भोलि बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको छ,’ पौडेलले भनिन्, ‘स्थानीय तह निर्वाचन मितिबारे कुरा हुन्छ। बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको पनि सम्भवतस् समीक्षा हुनेछ।’

गठबन्धनका दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संविधानसँग स्थानीय निर्वाचन ऐन बाझिएकाले संशोधन गरेर मात्रै चुनावी मिति घोषणा गर्न सुझाइरहेका छन्।

यसअघि माघ ९ गते गठबन्धनले कानुनविद्हरुसँग स्थानीय निर्वाचनको विषयमा छलफल गरेका थिए।

कानुनविद्हरुले पनि स्थानीय निर्वाचन ऐन २०७३ संशोधन गरेर वैशाख वा असारदेखि ६ महिना हुने गरी मंसिरभित्र चुनाव गर्न सुझाव दिएका छन्।

 


१४ माघ २०७८, शुक्रवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु