जो काखमा दुधे बालकसहित मत खसाल्न पुगिन्

सुदूरपश्चिम प्रदेशको बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिलाकुमारी बिष्ट बुधबार राष्ट्रिय सभाका लागि धनगढीमा भइरहेको निर्वाचनमा मतदानका लागि काखमा ९ महिने छोरा लिएर हस्याङ फस्याङ गर्र्दै मतदानस्थल पुगिन् ।

सुदूरपश्चिम प्रदेश सभाको प्राङ्गणमा बुधबार राष्ट्रिय सभा सदस्यका लागि मतदान भइरहेको छ ।काखमा छोरालाई बोकेको हुँदा लाइनमा नबसी सोझै मत हाल्न गइन् उनी ।

प्रदेशसभा सदस्यका लागि खुला, महिला र दलित कोटा गरेर मतपत्र तीन ठाउँमा खसाल्नुपर्ने थियो ।उनले सबैमा मतपत्र खसालिन् ।मत खसालिसकेपछि उनले तीनवटै मतपेटीकालाई ढोकसमेत गरिन् । सायद आफूले मतदान गरेको उम्मेदवारले जितुन् भन्ने उनको कामना थियो होला ।

६ सय भाडा तिरेर मंगलबार भोट हाल्नकै लागि बैतडीबाट दुधे बालक लिएर उनी निजी सार्वजनिक गाडी चढेर धनगढी पुगिन् । ‘गाउँपालिकाको एउटा मात्रै गाडी छ, उनले भनिन्, ‘त्यो गाडीमा अध्यक्ष ज्यु र अरु मान्छेहरु आएका रहेछन् ।

गाडीमा धेरै मान्छे भएर कोचाकोच भएपछि आफू सार्वजनिक गाडीमा भाडा तिरेर आएको उनले बताइन् । उनका श्रीमान शिक्षक हुन् । उनकी एउटा पाँच वर्षीय छोरी पनि छिन् । २०७४ वैशाखमा स्थानीय चुनावमा पनि उनले छोरीलाई काखमै लिएरै जनता सामु भोट माग्न गएकी थिए उनले भनिन् ।

२०७६ सालको राष्ट्रिय सभाको चुनाव दिपायमा हुँदा छोरीलाई बोकेरै भोट हाल्न गएको उनले बताइन् ।‘उसैपनि महिलालाई काम गर्न गारो छ,’ उनले भनिन्, ‘त्यसमा पनि बालबच्चासंगै जिम्मेवारी बहन गर्नुपर्छ ।गर्दागर्र्दै पनि जनअपेक्षा अनुसार काम गर्नुपर्छ । सकेजति काम गरिरहेका छौँ ।’

महिलाहरु अनुपातका हिसाबले अगाडि आउनुमा कुनै अर्थ नरहेको नरहेको भन्दै उनले भनिन्, ‘महिला मुख्य भूमिकामा हुनुपर्छ, अनि मात्रै महिला सहभागिताले सार्थकता पाउँछ । उनले अहिले भइरहेको राष्ट्रिय सभाको निर्वाचनबाट पनि राम्रो मान्छे चुनिएर आउनुपर्ने बताइन् ।


१२ माघ २०७८, बुधवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु