punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा ‘नरहरि’ पर्वको रौनक

Chaupati
safha napa

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा माघे संक्रान्ति तथा नरहरि पर्वको रौनक छाएको छ। काग तिहार समेत भन्ने गरिएको यो पर्वलाई स्थानीय भाषामा ‘नरहरि’ भनिन्छ।नर भनेको मानिस हरि भगवानमा लीन हुनु अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरि भनिएको बताइएको छ।

पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ।कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलि फरक ढंगले काग तिहार मनाइन्छ। सुदूरपश्चिममा पुसे तिहार अर्थात् माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकार खुवाउने चलन छ।

हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिइन्छ। उक्त खानेकुरा माघे संक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ।

कागले पुस १५ गते तीर्थमा गई स्नान गरी संक्रान्तिका दिन फर्केर रोटी खाने गरेको विश्वास छ। नरहरिका दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। कागले लगेर लुकाएको रोटीलाई मानिसले भट्टाएर ब्याउने गाईलाई खुकाए बाच्छी सप्रिने समेत विश्वास गरिन्छ।

माघे संक्रान्तिमा कागलाई मिठा खाने कुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहेको र पार्वतीले शिवलाई पति पाऊँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पण्डित जयानन्द भट्ट बताउँछन्। माघ महिना धार्मिक महिना भएकाले माछामासु पनि खानु हुँदैन भन्ने पुस्तौँदेखि चलिआएको प्रचलन रहेको पण्डित भट्टको भनाइ छ।

सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाडपर्वमध्येको माघे संक्रान्तिका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिस घर फर्किने गर्दछन् भने विवाहित महिला माइती जाने गर्दछन्। माघे संक्रान्तिलाई आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने पर्वको रूपमा लिइन्छ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित दयाकृष्ण पन्तले बताए।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास रहेको छ। कागलाई यमराजको सन्देश वाहकका रूपमा पनि पूजा गरिन्छ। त्यही भएर यो चरालाई कागतिहार बाहेक अरू बेला भने अशुभ र अशुद्ध पन्छीका रूपमा लिइन्छ। कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ। कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता रहेको छ।


१ माघ २०७८, शनिवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु