क्रिकेटर करण पुलिसमा आबद्ध
राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।
’नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के।सी। नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदयदेखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।२६ पुसबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध हुने भएका हुन् ।
हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी, कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगायतका खेलाडी अनुबन्ध छन् ।यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी–२० फर्म्याटमा हुन लागेको हो ।
नेपाली टिमले ओमानमा हुने आईसीसी टी–ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता टी–२० फर्म्याटमा गरेको हो ।
२४ पुस २०७८, शनिवार १८:५८ बजे प्रकाशित












