कति पुग्यो कैलालीमा मतदाता संख्या ? छुटेकाले नामावली दर्ता गर्न सक्ने
कैलालीमा यसपटक २३ हजार ४५६ मतदाता थपिएका छन् । योसंगै जिल्लामा मतदाता संख्या पाँच लाख नाघेको छ । जिल्लामा मतदाता संख्या ५ लाख २१ हजार पुगेको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
यही पुस १८ गतेसम्म कैलाली जिल्लामा मतदाता संख्या ५ लाख २१ हजार ५ सय ५५ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार पछिल्लो पटक जिल्लाका दुईवटा इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयबाट गएको साउन ४ गतेदेखि तथा जिल्लाका १० वटा स्थानीय तहमा मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म मतदाता नामावली सङ्कलन गरिएको थियो । यो अवधिमा पुस १८ गतेसम्मको तथ्याङ्क हेर्दा कैलाली जिल्लामा २३ हजार ४ सय ५६ जना मतदाता थपिएका निमित्त प्रमुख भट्टले बताए ।
उनले अहिले पनि इलाका प्रशासन कार्यालय टीकापुर र सुखड, जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदाता नामावलीमा नाम दर्ता गराउने काम जारी रहेको बताए । उनका अनुसार निर्वाचन घोषणा हुँदाको मितिसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने काम जारी रहने उनले बताए ।
अहिले स्थानीय तहमा भने मतदाता नामावली दर्ता गर्ने क्रम रोकिएको उनले बताए । छुटेका नागरिकहरूलाई नजिकको पायक पर्ने स्थानमा गई नाम दर्ता गराउन समेत प्रमुख भट्टले आग्रह गरे ।
२२ पुस २०७८, बिहीवार १७:४० बजे प्रकाशित













