काँग्रेस कैलालीको सभापतिमा उम्मेदवारी दिने भीम बडुवालको घोषणा
नेपाली काँग्रेस कैलालीका युवा नेता भीम बडुवालले कैलाली जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको छन् । विहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बडुवालले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यसअघि २०७२ सालमा भएको अधिवेशनमा सभापतिमा पराजित बनेका बडुवालले यसपटक पनि उम्मेदवारी घोषणा गरेका हुन् । उनले यसपटक आफ्नो जित सुनिश्चित भएका दाबीसमेत गरेका छन् ।
‘अघिल्लो पटक सभापतिमा पराजित भएँ,’ उनले भने, ‘यसपटक जित्ने पालो मेरो हो । ५१ प्रतिशत मत ल्याएर सभापतिमा विजयी हुन्छु ।’ उनले आफू सम्पूर्ण नेता कार्यकर्ताकै भावनाअनुसार सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बताए ।
निर्वाचनमा कैलालीका पूर्व र बर्तामान सभापतिको पनि साथ रहेको भन्दै उनले भने, ‘निर्वाचनको केही दिनअघि प्यानल घोषणा गर्छु, जहाँ अधिकांश नेताहरुको उपस्थिति हुनेछ ।’
पार्टीलाई साझा, गुटबन्दीमुक्त, आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईको स्थानमा ल्याउन, सामाजिक सदभाव, भातृ संगठनलाई क्रियाशील र चुस्तदुरुस्त बताउनेलगायतका एजेण्डा रहेको उनले बताए ।
२०३५ सालमा कैलाल्ीको पाण्डौनमा जन्मिएका बडुवालको राजनीतिक यात्रा २०४९ सालमा नेपाल विद्यार्थी संघ माध्यमिक तह ईकाई समतिको सचिव हुँदै सुरु भएको हो ।
उनी २०५२ सालमा नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भए । २०५५ सालमा नेपाल विद्यार्थी संघ कैलालीको कोषाध्यक्ष भएका उनी २४ वर्षको उम्मेरमा २०५९ सालमा नेपाल विद्यार्थी संघ कैलालीको सभापति बनेका थिए ।
२०६० सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) केन्द्रीय समितिमा प्रचार समिति सदस्य, २०६५ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति सह–महामन्त्री पदमा रहेका थिए ।
उनी २०६७, २०७२ र २०७८ मा महासमिति सदस्य निर्वाचित भए । २०६७ को कैलालीको अधिवेशनमा भने उनी सचिव पदमा पराजित भएका थिए ।
पटकपटक सर्दै आएको कैलाली कांग्रेसको अधिवेशन १५ माघका लागि तोकिएको छ । यसअघि जिल्ला अधिवेशन यही पुस २७ गतेका लागि तोकिएको थियो ।
२२ पुस २०७८, बिहीवार १३:५८ बजे प्रकाशित













