तराईमा हुस्सु, यस्तो छ तीन दिनको मौसमी अवस्था
केहीदिनयता देशभर चिसो बढिरहेको छ। पश्चिमी र मध्य तराईमा अहिले हुस्सु लागिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मध्याह्नसम्म उक्त क्षेत्रमा हुस्सु लाग्नुका साथै चिसो बढ्ने छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण हिउँदमा वर्षा तथा हिमपात हुँदै आएको छ । तत्कालीन अवस्थालाई हेर्ने हो भने आगामी तीन दिनसम्म यो प्रणाली नेपाल भित्रिने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ।
यस्तो छ तीन दिनको मौसम
पुस ५ गते सोमबार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहनेछ।
त्यसैगरी पुस ६ गते मंगलबार दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
मंगलबार राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार पुस ७ गते बुधबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ। राति पनि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।
त्यसतै तराईका भू–भागहरूमा बिहानको समयमा हुसु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले यसबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
५ पुस २०७८, सोमवार ०८:३५ बजे प्रकाशित













