Hotel Flora Long Ad

विद्यालयमा खानेपानी तथा सरसफाइ स्वच्छतामा सुधारको प्रयास

कैलालीका विद्यालयमा खानेपानी तथा सरसफाइ स्वच्छतामा सुधार भइरहेको दाबी गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न १७ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएपछि विद्यालयमा खानेपानी तथा सरसफाईमा सुधार भइरहेको विद्यालयमा खानेपानी तथा सरसफाइ स्वच्छता अनुगमन कार्यक्रमका संयोजक राम बानियाँले बताए ।

जीआइजेडको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको प्रयास नेपालले मंगलबार धनगढीमा पत्रकारसंगको बैठकमा विद्यालयमा खानेपानी तथा सरसफाईमा सधार भइरहेको जनाएको हो ।

कतिपय विद्यालयमा सरसफाइ स्वच्छता सम्बन्धी समितिहरु भएपनि सरसफाइमा खासै सुधार आउन नसकेको संयोजक बानियाले बताए । गोदावरी नगरपालिकाको वडा नम्बर ११ र १२ को विकट क्षेत्रका विद्यालयमा सरसफाइ गर्न समस्या रहेको उनले बताए ।

सो क्षेत्रमा पानीको अभाव रहेका कारण केही चुनौती रहेको गोदावरी नगरपालिका शिक्षा शाखाका विष्णु अवस्थीले बताए । कार्यक्रम लागू भएपछि छात्राहरुले निर्धक्कसंग सेनिटरी प्याड माग्ने कार्यमा भने बढोत्तरी भएको अवस्थीले बताए ।

धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका अकबर चन्दले कोभिडको महामारी शुरु भएपछि विद्यालयहरुमा सरसफाइ बढेको बताए ।

प्रयास नेपालका अध्यक्ष लोकराज जोशीले खानेपानी तथा सरसफाइ स्वच्छता कायमका लागि विद्यालयहरुले आफूले गरेको कामका आधारमा बर्गिकृत हुने बताए । उनले १० वटा सूचकमा तारा दिने कार्य भइरहेको बताए । उनले सबैभन्दा राम्रो भएमा तीन तारा प्राप्त गर्ने गरेको जनाए ।


७ मंसिर २०७८, मंगलवार २०:५० बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु