पौडेलको सुदूरपश्चिम भ्रमण : बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण कि देउवालाई काउण्टर ?
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश पुगेका छन् । बिहीबार हेलिकप्टरबाट आएर दुई दिन प्रधानमन्त्री देउवाले प्रदेशमा गएको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर शुक्रबार मात्रै काठमाडौ फर्किसकेका छन् ।
प्रधानमन्त्री देउवा फर्केलगतै आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विमानस्थल मार्फत प्रधानमन्त्रीको गृहप्रदेशमा आउनुले देउवालाई काउन्टर त दिन आएका होइनन् भन्ने प्रश्न उब्जेको छ । अहिले काँग्रेसको १४ महाधिवेशन चलिरहदा सुदूरपश्चिम प्रदेशमा देउवा पक्ष बलियो र पौडेल पक्ष कमजोर देखिएको छ ।
प्रदेशका अधिकांश जिल्लामा जिल्ला अबिधेशन बाँकी रहेकाले अधिवेशनलाई नै लक्षित गरेर वरिष्ठ नेता पौडेल प्रधानमन्त्रीको गृहप्रदेशमा आएको हुन सक्ने बताइएको छ । वरिष्ठ नेता पौडेल बाढीपहिरोको निरीक्षण र कार्यकर्ता भेटघाटका लागि दुई दिन सुदूरपश्चिम भ्रमणमा आएको बुझिएको छ ।
‘शेरबहादुर देउवा दाई पार्टीको सभापतिको हैसियतले भन्दा पनि देशकै प्रधानमन्त्रीको हैसियतले आउनुभएको हो,’ नेपाली काँग्रेसका सचिव पूर्ण कुँवरले भने, ‘पार्टीको सभापतिको हैसियतले भन्दा पनि राष्ट्रको प्रधानमन्त्रीको हैसियतले कहाँको बाढीपहिरोको वास्तविक अवस्था के हो भन्ने बुझ्न आउनु भएको हो ।’
उनले बरिष्ठ नेता पौडेल बाढी प्रभावितहरुको सहयोगका लागि पार्टीले के गर्न सक्छ भनेर बुझ्न सुदूरपश्चिम आएको बताए । ‘पौडेल पीडितका लागि पार्टीले के पहल गर्दा उपयुक्त हुन्छ भन्ने किसिमको सुझाव दिन आउनु भएको हो।’
पौडेल देउवालाई काउन्टर भन्दा पनि सहयोग गर्नु आउनुभएको सचिव कुँवरको भनाई छ । ‘हामीले त्यसरी बुझ्नु भएन,’ उनले भने, ‘रामचन्द्र दाई बरु देउवालाई सर्पोट गर्न आउनु भएको हो ।’प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको हैसियतमा सरकारी तबरबाट आएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीसंग सबै मान्छेको पहुँच हुँदैन । रामचन्द्र दाइसंग सबै जनता र पार्टीका कार्यकर्ताहरुले पनि सहजै भेटन र समस्या राख्न सक्छन् ।’
कैलालीका पार्टी उपसभापति प्रकाश बमले वरिष्ठ नेता पौडेल बाढीपहिरो अवलोकन निरीक्षणका लागि नै सुदूरपश्चिम आउनुभएको बताए । ‘नेता पौडेल अहिले बाढी प्रभावित क्षेत्रको अवलोकन निरीक्षण र समस्या बुझ्न आउनुभएको हो,’ उनले भने, ‘कार्यकर्तासंग भेटघाट पनि हुन्छ र अधिवेशन पनि आइरहेको छ ।अधिवेशनलाई लक्षित गरेर आउनुभएको पनि हुन सक्छ ।’
६ कात्तिक २०७८, शनिवार १६:१५ बजे प्रकाशित












