बाढी पहिरोका दुई घाइतेको हेलिकप्टरद्वारा उद्धार

असोज ३१ गते रातिदेखि लगातार परेको बर्षापछि आएको बाढीपहिरोका कारण घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको छ ।डोटी जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको एनए–०३८ हेलिकप्टरमार्फत सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।

उद्दार गरिएकामा दिपायल सिलगढी नगरपालिका–६ का ५४ बर्षीय दीपक नेपाली र सोही नगरपालिका–९ का ३० बर्षीय मानबहादुर नेपाली रहेका छन् । दीपक कामबाट फर्केर घर जाँदा बाढीमा चिप्लिएका थिए । उनी बेहोस छन् । उनीलाई उक्त रक्तचाप र मधुमेहको समस्यासमेत देखिएको उनका आफन्तहरुले बताएका छन् ।

यस्तै मानबहादुर मंगलबार साँझ नजिकैको बजारबाट दैनिक उपभोग्य बस्तु किनेर घर फर्किने क्रममा पहिरोमा पुरिएका थिए । उनको १७ घण्टापछि बुधबार मात्रै उद्धार भएको थियो । उनको दायाँ खुट्टा तीन ठाउँमा भाँचिएको आफन्तहरुले जानकारी दिएका छन् ।

डोटीमा उपचार सम्भव नभएपछि सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीसंग समन्वय गरी हेलिकप्टरमार्फत उद्धार गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

यसअघि बुधबार बोगटान फुड्सिल गाउँपालिकाबाट एक र सायल गाउँपालिकाबाट दुई गरी तीन जना घाइतेको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।बाढी पहिरोका कारण डोटीबाट धनगढीको सडक यातायत अवरुद्ध भएपछि घाइतेहरुलाई हवाई मार्गबाट उद्धार गर्नुपरेको छ ।


४ कात्तिक २०७८, बिहीवार १८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु