बस्ती पस्यो सेतीको बाढी
लगातारको वर्षासँगै सेती नदीमा आएको बाढी बस्ती पसेको छ । दुई दिनयताको पानीले सेती नदीको बहाव अहिलेसम्मकै उच्च रहेको दिपायलका स्थानीय गणेश भट्टले जानकारी दिए ।
दिपायलस्थित सेती नदी र द्वारीखोलाको तटमा रहेका दक्षिणकाली वर्कसप , डोटी चेम्बरको नव निर्मित भवन, दिल्पेश्वर माविको भवन, महादेव मन्दिरलगायत संरचना डुबानमा परिसकेका छन् । दक्षिणकाली वर्कसपमा राखिएका दुईवटा बोलेरो जिप पनि डुबेका छन् ।
दिपायल सिलगढी नगरपालिका–३ का वडाध्यक्ष चक्र माझीले वडा नं २ र ३ को सिमानामा पर्ने पुल बजारमा सेती नदी पसेर बस्ती जोखिममा परेको बताए । वडाध्यक्ष माझीका अनुसार बजारस्थित रमेश भण्डारी र तारा पनेरूको घरभित्र पानी पसिसकेको छ ।
पहाडी ३ जिल्ला जोड्ने सेती पुलसमेत खतरापूर्ण रहेको स्थानीयले बताए । जिल्ला प्रशासन कार्यालय डोटीले लगातारको साहुखर्क, गैरा, चौरबन्दले, जोगबुढा, गाईबाँधेलगायत क्षेत्रमा भारी वर्षा मापन भएकाले त्यहाँको नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए ।
डोटीमा विद्युत्, फोन, मोबाइल, इन्टरनेट, खानेपानी सेवा सोमबारबाट पूर्ण रूपमा अवरुद्ध भएकाले जनजीवन झन् कष्टकर बनेको छ । किसानले भित्र्याउन लागेको धान खेतमै कुहिएको छ । मुख्य राजमार्ग तथा ग्रामीण सडकका ठाउँठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध छ ।
२ कात्तिक २०७८, मंगलवार १४:३३ बजे प्रकाशित













