कैलालीका किसानलाई धान भित्र्याउने चटारो
दसैंको टीका लगत्तै पश्चिम तराइका किसानलाइ धान भित्र्याउने चटारो भएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने कैलालीको पूर्वी भेगका किसानलाइ खेतमा पहेँलपुर भएको धानवाली भित्र्याउन भ्याइनभ्याइ हुन थालेको हो ।मनसुन सकिएसँगै धान भित्र्याउन सुरु गरेका यहाँका किसान दसैं मनाउन व्यस्त थिए । शनिबारदेखि फेरी धान कटाइ सुरु भएको छ ।
यसपाली ढिलोसम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् । दसैंको २र३ दिन बाहेक किसानहरु धान कटाइमै व्यस्त थिए । चाँडो बाली तयार हुने राधा–४, सर्जु–५२ लगायतका धान पाकेर दाना झर्ने अवस्था भइसकेकोले धान भित्र्याउन हतार भइसकेको जानकी गाउँपालिका–८ का किसान रमेश चौधरीले बताए ।
‘ढिलोसम्माके झरीका कारण केही धान ढलेकोले धान काट्ने मेसीनले काट्न पनि समस्या हुँदा हँसियाले काट्नु परिहरेको छ,’ चौधरीले भने । यसपाली धान भित्र्याउने बेला वर्षा भएकोले धान डलेर केही क्षति भएको उनले बताए ।
कैलालीको जानकी गाउँपालिका–६ का किसान बलीराम चौधरीले करिब २ विघाको धान वर्षाले पुरै ढलाएको सुनाए । उनले भने, ‘हावापानी आयो । सबै धान ढल्यो । ढलेका धान पुरै कुहियो । मिहिनेत र लगानी सबै खेर गयो ।’कैलालीको पूर्वी भागमा सिँचाई कुलोको पानी लाग्ने भएपछि यहाँका किसानले चाँडै नै रोपाईं सकाएका थिए ।
पानी नपरेको भए यहाँका किसानले धान भित्र्याइ सकेका हुन्थे ।धान काट्न यहाँका किसानले पावर टिलरको प्रयोग बढाउँदै लगेका छन् । धान पाके पनि धान खेत गिलै भएकोले पावर टिलरले धान काट्ने अवस्था नरहेको किसान भोजराज चौधरीले बताए । उनले भने, ‘हसियाले धान काट्दा समय पनि लाग्छ । लगानी पनि बढ्छ ।’
किसानहरु आधुनिक कृषि औजारमा आकर्षित हुँदै गएपनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजार हँसियाकै सहारामा धान काट्ने गरेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र यहाँको रानी जमरा गुलरिया सिचाईं आयोजनाको कृषि तर्फको कार्यालयले अनुदानमा कृषि औजार सहयोग गर्दै आएको छ ।’कान्तिपुरबाट
३० असोज २०७८, शनिवार १२:२९ बजे प्रकाशित













