बर्षदिन नपुग्दै जीर्ण बन्यो ऐतिहासिक अमरगढी किल्लाको कोतघर
डडेल्धुरामा रहेको ऐतिहाहिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर निर्माण गरेको एक वर्ष मै जीर्ण बनेको छ ।डडेल्धुरामा रहेको नेपाली सेनाको तत्कालीन रणबम गणले नागरिक–सैनिक सम्बन्ध कार्यक्रम अन्तर्गत २० लाख रुपिँयाको लागतमा कोतघर निर्माण गरि २०७७ कार्तिक १३ गते अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
भग्नावशेषका रुपमा रहेको कोतघरलाई सेनाले पुस्तकालयसहितको कोतघर निर्माण गरी एक थान कम्प्युटर सहित कोतघर अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको एक वर्ष नपुग्दै जीर्ण भएको पत्रकार प्रकाश भाटले बताए ।कोतघरको धुरीमा राखिएको काठ भाच्चिएर चुहिन थालेपछि अमरगढी नगरपालिकाले कोतघरमाथि त्रिपाल हालेर राखेको स्थानीयहरुको भनाईरहेको छ ।
अमरगढी किल्ला घुम्न आउने पर्यटकहरुलाई किल्लाको इतिहास र युद्धमा प्रयोग भएका युद्ध हतियारका बारेमा जानकारी गराउने उद्धेश्यले निर्माण गरिएको कोतघर प्रयोगमा नआउदै भत्किन थालेको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरुले बताए ।
नेपाली सेनाले अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको कोतघर एक वर्षभित्रै चुहिन थालेपछि कोतघर बचाउनका लागि नगरपालिकाले त्रिपाल राखेको अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए। उनले भने कुनै पनि काम सम्पन्न भएको एकवर्ष सम्म निर्माण कम्पनीको जवाफदेहिता हुने भएकोले कोतघर पुनः मर्मतका लागि ठेकेदारलाई भनेका छौँ चाडै मर्मत हुन्छ ।
वि.स. १८४७ मा कर्णाली वारी राज्य संचालनका साथै महाकाली पारी कुमाउ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले किल्लाको निर्माण गर्नुभएको थियो । तत्कालीन समयमा युद्ध गर्दा उहाँले प्रयोग गर्नु भएका पुराना हतियारहरुको खोजी गरि कोतघरभित्र संग्रहालय बनाएर राख्नु पर्ने स्थानीय नरेशबहादुर थापाले बताए ।गोरखापत्रबाट
३० असोज २०७८, शनिवार ०८:३० बजे प्रकाशित












