रौनक छैन अछामका गाउँमा
अछामका गाउँहरूमा यतिखेर चाडपर्वको समयमा कतै चहलपहल छ भने कतै सुनसान छ । पढाइ र रोजगारीका लागि काठमाडौं, नेपालगन्ज र धनगढी गएकाहरू फर्किंदा चहलपहल बढेको छ । कोरोना संक्रमणमा घर फर्केकाहरू धमाधम कामको खोजीमा भारत जान थालेपछि गाउँघर सुनसान हुन थालेको छ ।
कोरोना संक्रमणपछि आर्थिक अवस्था कमजोर भएका परिवारको भारतको रोजगारी गुमेर बिचल्ली भएको छ ।मंगलसेन नगरपालिका–५ की पार्वती विकका छोरा र श्रीमान् कामको खोजीमा भारत गएको एक महिना भयो । चाडपर्व नजिकिँदै गर्दा उनले छोरा र श्रीमान्लाई भारत नजान कर गरिरहेकी थिइन् । तर, आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुन थालेपछि उनी भारत पस्न बाध्य भए ।
‘कोरोनाको डरले गत वर्ष घर आएका थिए । अहिले कोरोनाको संक्रमण कम भएको खबर पाएपछि फेरि उतै गइसके,’ पार्वतीले भनिन्, ‘घरमा कोही नहुँदा चाडपर्व नआए पनि हुन्थ्योजस्तो लाग्छ । घरमा जति छौं, सबैलाई एक्लो महसुस भएको छ ।’
पुरुष मात्रै होइन, पछिल्लो समयमा पुरुषसॅंगै अछामका महिलाहरू पनि रोजगारीको सिलसिलामा भारततर्फ जान थालेपछि बालबालिका र र वृद्धवृद्धा गाउॅंमा एक्लै हुन थालेका छन् । उनीहरू सहाराको खोजीमा छन् । चाडपर्वमा उनीहरू एक्लो मात्रै हुँदैनन्, न्यास्रो मान्दै दिन बिताउँछन् ।
खेतबारीमा उत्पादन नहुने अन्य रोजगारीका अवसर गाउॅ पाउन मुस्किल भएको भन्दै कोरानाको संक्रमणपछि महिलाहरू पनि भारततर्फ कामका लागि जान थालेका हुन् ।छोरीको सहारामा बस्दै आएकि साँफेबगर नगरपालिका –११ डॉडा गाउॅंकी ७६ वर्षीया धनी विक अब एक्लो कसरी बस्ने भन्ने चिन्तामा छिन् । एक मात्र छोरी भएकी धनी अब एक्लो भइन् ।
छोरीको घरमा बस्दै आएकी उनलाई अब सहारा पाउनै मुस्किल छ । ‘छोरी खिमा कामको खोजीमा भारत गइन् । उनका छोराछोरी गत पुसमा नै गइसके अब म एक्लो घरमा भए,’ गहभरि आँशु निकाल्दै धनीले भनिन्, ‘सन्तानको सुख सयलमा रमाउने रहर मेरो अधुरै रह्यो ।’
रातो रङमा चामल मुछ्दै छोरीको बिदाइका लागि अक्षता बनाउदासम्म उनका आँखाबाट आँसु बगिरहे । दसैंको बेला भारत जानेहरूलाई साँफेबगर बसपार्कसम्म पुर्याउनका लागि डाँडागाउँमा पुगेको जिपमा बिदाइ गर्दा आमा छोरी मात्र होइन अन्य यात्रुका आँखाबाट आँसु बग्दै थियो ।
सोहि गाउँकी रम्भा विकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तरार्द्धमा छोराछोरी भारत लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुईरतीन वर्षअघिसम्म खेतीपाती लगाउन दसैंको समयमा घर आउने उनका छोराबुहारी योपटक भने दसैंको बेला भारत गए ।
२५ असोज २०७८, सोमवार १४:१८ बजे प्रकाशित































