मुक्तिनाथ मन्दिर आजदेखि खुल्यो

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर आजदेखि खुला भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो ।

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए ।

‘स्वदेशीका लागि पीसीआर, एन्टीजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ’, उनले भने, ‘विदेशीका लागि सात दिनभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।’

वडादसैंको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना संक्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।


१० असोज २०७८, आइतवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु