सुदूरपश्चिममा नेकपा (एस)लाई दलको नेता छान्न सकस
माओबादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय
सुदूरपश्चिम प्रदेशमा आकांक्षी धेरै भएपछि नेकपा (एकीकृत समाजबादी)लाई दलको नेता छान्न सकस भएको छ ।
सोमबार पहिलो पटक बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने विषयमा छलफल गरेपनि निर्णय लिन सकेन ।
सोमबार संसदीय दलका जेष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बैठक बसेको बैठकले अन्य निर्णय गरेपनि दलको नेता छान्ने विषयमा भने निर्णय लिन सकेन ।
बैठकमा दलको नेता छान्ने विषयमा सामान्य छलफल मात्रै भएको तर निर्णय नभएको सांसद दुर्गा बिकले बताइन् ।
संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गरिने उनले बताइन् ।
संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारालामा तामाङ लगायत, पूर्व मन्त्री माया भट्ट आकांक्षी छन् ।
सांसद बिकले सोमबारको बैठकले नेकपा माओबादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने र संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गर्ने निर्णय भएको बताइने । उनले आफ्नै नेतृत्वमा विद्यान समिति गठन गरिएको जानकारी दिइन् ।
साथै बैठकले प्रदेशसभामा नेकपा (एस)लाई सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने प्रस्ताव पास समेत पारित गरेको छ । संसदीय दलको अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको छ ।
२८ भदौ २०७८, सोमवार १८:३८ बजे प्रकाशित













