डडेल्धुराको अधिवेशनबारे सर्वोच्च जान्छौँ : सभापति मल्ल
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा विवादका बीच अधिवेशन अगाडि बढेको छ । भदौ २५ गते जिल्ला सभापतिको वहिस्कारका बीच काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।
भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवादका रोकिएको थियो ।२१ गते विवाद निरूपण गरी केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता सूची जिल्ला पठाए पनि जिल्ला सभापति कर्णबहादुर मल्लले उक्त सूची अस्वीकार गरेपछि डडेल्धुरामा रमिता मच्चिएको छ ।
मल्ल पक्षले निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बममाथि हातपात गर्नेदेखि अधिवेशन स्थगितको घोषणासम्म गरेको थियो । तर जिल्ला सभापति मल्लले निर्वाचन नियमावली विपरीत वडा अधिवेशन स्थगितको घोषणा गरे पनि शुक्रबार अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मल्ल निकट कार्यकर्ता पंक्ति भने अधिवेशनमा सहभागी भएको छैन ।
जिल्ला सभापति कर्णबहादुर मल्लले एकलौटी रूपमा गरिएको अधिवेशनबाट आएको नेतृत्व स्वीकार्य नहुने बताए । साथै उनले त्यसका विरुद्ध सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए ।
२६ भदौ २०७८, शनिवार १३:५७ बजे प्रकाशित













