सुदूरपश्चिम प्रदेश संसदीय दलमा रावलको पक्षमा तीन सांसद मात्रै !
नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा आफ्ना विश्वास पात्र गुमाउने देखिएको छ । पार्टीमा विवाद भएपछि माधव नेपालको साथमा रहेका रावल अहिले एमालेमा रहँदै ओली पक्षमा खुलेपछि उनले सुदूरपश्चिममा आफ्ना विश्वासपात्र गुमाउने देखिएको हो ।
तत्कालिन नेकपा हुँदै एमाले पुनर्गठित हुँदासम्म नेपाल समूहमा रहँदै ओलीको खरो विरोधीका रुपमा रहेका रावल अहिले एकाएक ओलीतिर खुलेका छन् । सुदूरपश्चिममा तत्कालिन समयमा पार्टी र प्रदेशसभामा नेपाल समूहको वर्चश्व रहेको थियो ।
रावल पनि नेपाल समूहमै थिए । जसले गर्दा यहाँ रावलको दबदबा थियो । तर, अहिले नेता नेपालले नयाँ पार्टी दर्ता गरेका छन् भने रावल ओली समूहमा गएका छन् । एमालेमा देखिएको यो पछिल्लो घटनाक्रमले सुदूरपश्चिममा रावलले आफ्नो जनआधार गुमाउने देखिएको छ ।
अहिले पार्टी फुटेपछि सोही अनुसार प्रदेशका नेताहरु विभाजित हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेमा सभामुखबाहेक २४ जना सांसद छन् । त्यसमध्ये यसअघि माधव नेपाल समूहमा १७ जना खुलेका थिए भने ओली पक्षमा सात जना मात्रै थिए ।
पार्टी फुटेपछि अब यो संख्यामा केही फेरबल हुने खेखिएको छ । स्रोतका अनुसार यसअघि नेपाल पक्षमा रहेका तीन जना रावल अर्थात ओली पक्षमा जाँदैछन् । उनीहरु ओली भन्दा पनि रावललाई नेता मान्ने भएकै कारण सो समूहमा जान लागेका हुन् ।
सोतका अनुसार एमाले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, हर्क कुँवर र मना साउँद रावलतिर खुल्ने सम्भावना छ । यसो हुँदा ओलीमा पक्षमा रहेका सात जनामा थप तीन जना खुलेपछि यो संख्या १० पुग्दैछ ।
रावलका विश्वास पात्र रहेका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका दीर्घ सोडारीले भने नेपाललाई साथ दिँदैछन् । उनी यसअघि रावलका नजिकका विश्वास पात्र थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट एकीकृत समाजबादीको केन्द्रीय कमिटीमै छन् ।
मन्त्री जोशीले भने प्रदेशसभामा यस अघि नेपाल समूहमा रहेका सबै नयाँ पार्टीमा आउने बताएकी छन् । उनले अहिले केन्द्रीय समितिमा नबसेपनि अधिकांश एमाले सांसद नयाँ पार्टीमा खुल्ने दाबी गरेकी छन् ।
प्रदेश सांसद तारा लामा तामाङले पनि यसअघि नेपाल समूहमा रहेका सबै एकै ठाउँमा रहेको बताइसकेका छन् । यद्यपि उनले एकै ठाउँ भनेपनि कहाँ खुल्ने भनेर स्पष्ट पारेनन् ।
एक पूर्व मन्त्रीसमेत रहेका सांसदले पनि नेता नेपाललाई छोड्न नसकिने बताएका छन् । उनले आफू पहिलेदेखिनै नेपाल समूहमा रहेको र अब पनि उनलाई नै साथ दिने बताएका छन् ।
९ भदौ २०७८, बुधवार १५:२५ बजे प्रकाशित












