सानेपामा कांग्रेसका ५ नेता अनसनमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरू र युवा नेताहरूले अनसन सुरू गरेका छन्।क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने माग गर्दै र विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न माग गर्दै उनीहरूले रिले अनसन सुरू गरेका हुन्।

एक मात्र प्रतिनिधि सभा भएको जिल्लाको हकमा क्षेत्रीय प्रतिनिधि नै सभापति उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन निर्देशिकामा विधानविपरीत राखिएको भन्दै हटाउन उनीहरूले माग गरेका छन्।

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे कांग्रेस सभापति मधु आचार्य र धादिङ कांग्रेस सभापति रमेश धमला तथा युवा नेताहरू नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ पूर्वउपसभापति डिल्लीराम सुवेदी अनसनमा बसेका हुन्।

नुवाकोट कांग्रेस सभापति केसीले आफूहरूका माग नेतृत्वबाट सुनुवाइ हुनुपर्ने बताए। क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक नगरे वडा अधिवेशनका दिन वडा–वडामा लफडा हुने उनको भनाइ छ।

कांग्रेस संस्थापन पक्षले भने वेबसाइटबाटै क्रियाशीलको विवरण सार्वजनिक गर्ने प्रक्रिया सुरू भइसकेको बताएको छ।यसैबीच पार्टी कार्यालयमा अनसन बसेका जिल्ला सभापतिहरूको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उनी पक्षका नेताहरूले समर्थन जनाएका छन्।

आज बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बैठक गरेर उनीहरूले जिल्ला सभापतिहरूको मागमा ऐक्यवद्धता जनाउने निर्णय गरेका हुन्।


९ भदौ २०७८, बुधवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु