देखेकै भरमा ‘तोफू’ उद्योग स्थापना, चार महिनामै उत्कृष्ट

केही वर्ष भारतको गुजरातमा बसेका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ भुइँफाटाका पुरन चौधरीले त्यहाँस्थित एक होटलमा दुई वर्षसम्म काम गरे । होटलमा काम गर्दैगर्दा उनले सोया पनिर अर्थात ‘तोफू’ पनि देखे । जसको माग राम्रो थियो । उनी काम गर्ने होटल मात्रै नभई भारतमा तोफूको व्यापार राम्रो पाए ।

दुधबाट बनेकोलाई पनिर भनिन्छ भने भटमासबाट बनेकोलाई सोया पनिर भनिन्छ । उनले तोफूबारे थप जान्न खोजे । तोफु उत्पादन हुने एक उद्योग उनी काम गर्ने होटल नजिकै थियो । दुधबाट उत्पादन गरिने पनिरको विकल्पमा प्रयोग हुने रहेछ सोया पनिर वा तोफु । यसबारे उनले त्यहीँ मात्र थाहा पाएका हुन् । आफू काम गर्ने होटल र भारतमै राम्रो व्यापार हुने सोया पनिरबारे उनलाई जान्ने हुटहुटी जाग्यो । अनि नजिकैको सोया पनिर उत्पादन हुने उद्योगमा पुगे । यसको उत्पादनबारे बुझे । साथै यसबारे युटुबमा पनि खोजे र सकेजति जानकारी लिए ।

भारतमा होटलमा दुई वर्षको कामपछि उनी नेपाल फर्किए । घर फर्केपछि गाउँकै साथीहरु पनि सामान्य मिक्चर मेसिनबाट तोफु बनारहेको देखे । गाउँकै दशरथ चौधरी र रामनरेश चौधरीले घरकै लागि भनेर बनाउने रहेछन् तोफू । एक दिन तीन जनाको जमघटमा रामनरेशले उनीसहित दुई जनाई प्रस्ताव राखे, ‘अब सोया पनिर उद्योग खोलौं ।’ उनको प्रस्तावपछि पुरन र दशरथले नाई भन्नै सकेनन् । उनीहरुको दिमागमा पनि ‘क्लीक’ भयो कि ‘रामनरेशले सही भन्यो ।’

तीनै जना सोया पनिर उद्योग सञ्चालन गर्ने विषयमा तयार भए । योजना बनाउन थाले । योजना बनाउने क्रममा हाल मलेसियामा रहेका गाउँकै दुई जना भुवन र अर्पण चौधरीसंग पनि उनीहरुको सम्पर्क भयो । उनीहरु पनि सोया उद्योगमा लगानी लगाउन उत्सुक देखिए ।

विदेशमै भएपनि उद्योगमा लगाउनीका लागि दुबै जनाले रकम पठाए । उद्योग स्थापनाका लागि पाँच जनाले संयुक्त रुपमा लगानी गरे । यहाँ रहेका तीन जना भने उद्योग स्थापनाका लागि खटिए । उद्योग स्थापनाका लागि चाहिले मेसिन भारतबाट मगाए । झण्डै १० लाख रुपैयाँको लगानीमा उनीहरुले गत वर्षको फागुनमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा ‘हंश सोया पनिर उद्योग’का नामबाट उद्योग स्थापना गर्न सफल भए । जुन उद्योग सोया पनिरमा सुदूरपश्चिमको पहिलो उद्योग बन्न सफल भएको छ ।

यहाँ अहिलेसम्म सोया पनिरका कुनैपनि उद्योग थिएनन्, छैनन् पनि । उद्योगमा अहिले व्यवस्थापकको जिम्मेवारी पुरनले निभाइरहेका छन् । उनीहरुको लक्ष्य सोया पनिर मात्रै नभई भटमासबाट बन्ने अन्य चिज उत्पादन गर्ने छ । भटमासकै दुध बनाएर ब्राण्डिङ गर्ने योजना रहेको व्यवस्थापक पुरनले सुनाए ।

बजारीकरणमा समस्या
तोफू भन्ने नेपालमा खासै परिचित खाद्य वस्तु होइन । धेरैलाई दुधबाट बन्ने गरेको पनिरबारे थाहा छ । तर भटमासबाट बन्ने सोया पनिर वा तोफूबारे कमैलाई मात्रै थाहा छ । त्यसै कारणले पनि होला सुदूरपश्चिममा सोया पनिरको माग पनि खासै छैन । ‘सोया पनिर अर्थात तोफु भनेको नै अधिकांशलाई थाहा छैन,’ उद्योगका व्यवस्थापक पुरन चौधरी भन्छन्, ‘नेपालमै यसको खासै प्रयाग भएको पाइँदैन, सुदूरश्चिममा त झन अहिलेनै धेरै बजार पाउला भन्न सकिँदैन ।’ उनका अनुसार नेपालगञ्जम्म पनि सोया पनिर वा तोफू उत्पादन गर्ने उद्योग छैन ।

नेपालगञ्जमा पनि राजधानी काठमाडौंलगायतका ठाउँबाट तोफू आउँछ । बुटवलल र त्यहाँ भन्दा पूर्वतिरका बजारमा भने तोफू उद्योग हुनसक्ने पुरन चौधरी बताउँछन् । ग्राहलाई तोफूबारे खासै थाहा नभएको क्षेत्र सुदूरपश्चिममा यसले बजार लिन अझै केही समस्य लाग्ने पुरन बताउँछन् । ‘अहिलसम्म यहाँका कुनैपनि होटलले हाम्रो उत्पादन लिएका छैनन् ।’ उनी भन्छन्, ‘अहिले तत्काल यहाँका दुधडेरी, ‘ट्रेड सेन्टरहरु र किराना पसलहरुले केही मात्रामा तोफू लिने गर्छन् ।’

उद्योग स्थापना भएको छ महिना पनि पुगेको छैन । उद्योग स्थापना भएको एक महिनापछि कोरोनाका कारण जेठसम्म कडा निषेधाज्ञा भयो । तर पनि सरकारले तोकेको नियमानुसार स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन भइरहेको थियो, माग अनुसार डेलिभरी गर्ने गरेर । जसका कारण पनि यो उद्योग फस्टाउन सकेको छैन ।

असार १ गतेदेखि निषेधाज्ञा खुकुलो हुँद गएपनि अहिले बजार विस्तारको काम भइरहेको छ । ‘यहाँका लागि नयाँ उद्योग हो,’ व्यवस्थापक पुरन चौधरी भन्छन्, ‘अहिलेको यो छोटो समयमा धेरै प्रोफिट हुन्छ भन्ने आशा पनि राखेका छैनौं । उद्योगबारे प्रचार प्रसार भएपछि विस्तारै बजार पाउला भन्ने आशा छ ।’

छोटो समयमै उत्कृष्ट
हंश सोया पनिर उद्योग स्थापना भएको भर्खरै छ महिना मात्रै भएको छ । तर उद्योग स्थापना भएको चार महिना पनि नपुग्दै हंश सोया पनिर उद्योग १३ राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७८ एव् तेस्रो विश्व खाद्य स्वच्छता दिवस २०२१ को अवसरमा साना उद्योगहरुमा उत्कृष्ट उद्योगमा पर्न सफल भयो । उद्योग स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमा उत्कृष्टमा पर्न सफल भएको हो ।

सुदूरपश्चिमबाट उत्कृष्ट उद्योगमा परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणपत्र दिएर सम्मानित भएको छ । विगतका वर्षहरुमा संघीय राजधानीमै वृहत कायक्रमको आयोजना गरेर उत्कृष्ट हुने उद्योगीलाई सम्मान गर्ने गरिएको थियो । यो वर्ष भने सम्बन्धीत प्रदेशमै सम्मानपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सम्मानपत्र प्रदान गरेको थियो ।

स्वास्थ्यका लागि लाभदायक
बजारमा दुधबाट बन्ने पनिर पनि पाइन्छ । जसमा मिठास पनि हुन्छ । तर त्यसमा ‘फ्याट’ हुन्छ । भटमासको सोया मिल्कबाट बन्ने तोफू अर्थात सोया पनिरमा भने ‘फ्याट’ हुँदैन । यो एक स्वास्थ्यबद्र्धक खाद्यपदार्थ हो । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हो । यसमा क्याल्सियम, आइरनलगायतका पौष्टिक तत्व पाइन्छ । यसले मानव शरीरकोे समग्र स्वास्थ्य र विकासमा मद्दत पुग्छ ।

विज्ञका अनुसार यसमा भरपुर मात्रामा क्याल्सियम र प्रोटिन पाइन्छ । साथै यो ग्लूटेन फ्रि पनि हुन्छ । यसमा क्यालोरी धेरै कम हुने कारण मोटोपनको सम्भावना कम हुन्छ । जो मानिसहरुलाई शुद्ध दुधसंग एलर्जी छ भने ती व्यक्तिहरुलाई तोफू एक विकल्प हुने गर्दछ । यति मात्रै नभएर आफ्नो तौल घटाउने प्रयास गरिरहेका मानिसहरुको लागि पनि यसले सहयोग गर्छ ।

तोफू कलेस्ट्रोल लेबल बढी भएका मानिसहरुको लागि पनि उपयुक्त खाद्य पदार्थ हो । यसमा कार्बोहाइट्रेड, फाइबर, म्यागनिज, क्याल्सियम, जिंक, कपर र फसफोरस धेरै मात्रामा पाइन्छ । यी सबै तत्वहरुले हड्डीलाई बलियो बनाउने काम गर्छन् । यसका साथै यसले सेलको विकासमा पनि सहयोग गर्दछ ।

तोफूले मुटुसम्बन्धी समस्याहरु पनि कम गर्ने गर्छ । तोफूमा आइसोफ्लेवोनिस पाईन्छ । जसलाई विभिन्न प्रकारका क्यान्सरहरुबाट बचाउने तत्वको रुपमा मानिन्छ । यसका साथै तोफूले ब्रेस्ट क्यान्सर र फोक्सो क्यान्सरको सम्भावनालाई पनि कम गर्ने बताइन्छ ।


८ भदौ २०७८, मंगलवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु